नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा दिनेशलाल श्रेष्ठ


काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौँमा सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट श्रेष्ठ सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक सेयर धनी समूहको प्रतिनिधित्व गर्दै एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
राष्ट्रिय बीमा कम्पनीबाट नेपाल रिको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका शेखर बरालको राजीनामा पछि संस्थापक सेयर धनी समूहतर्फ सदस्य पद रिक्त थियो ।
श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्सको सीईओ नियुक्त हुनुअघि इन्स्योरेन्सको सञ्चालक समिति सदस्य थिए । उनी जीवन बीमक संघ नेपालका कोषाध्यक्ष पनि हुन् ।
श्रेष्ठसँग बैंकिङ र जीवन बीमा दुवै क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ । उनले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा १९ वर्ष सीईओका रूपमा काम गरिसकेका छन् ।
यसअघि उनले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा बीओडीको प्रतिनिधित्व गरिसकेका उनीसँग नेपाल वित्तीय संस्था संघ (एनएफआईए) को महासचिवको रूपमा पनि काम गरेको अनुभव छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार