हावाहुरीले चितवनमा ११ बिगाहा जग्गामा लगाएको केरा खेती सखाप, करोडौँको क्षति


काठमाडौँ । हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति भएको छ ।  शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।
हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहामा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । हावाहुरीले चितवनका किसानहरूको करिब १२ करोड बराबरको केरा क्षति भएको उनले जानकारी दिए ।
चितवनमा हावाहुरीले हालसम्मकै ठुलो केरा खेतीमा क्षति भएको किसानहरूले बताए । जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको उनीहरूको भनाइ छ । हावाहुरीले मुखमा आएको बालीमा क्षति भएपछि किसानहरू चिन्तित छन् । हावाहुरीले ११ बिगाहा जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुष्कर सिंहले बताए ।​
हावाहुरीले टिपेर बेच्ने बेला भएको केरा पूर्ण रूपमा क्षति हुँदा किसानहरू निराश भएका छन् । चितवनमा करिब ३ हजार ५ सय बिगाहामा केरा खेती भए पनि १ हजार ५ सय बिगाहाको केरामा मात्र बिमा गरिएको छ । केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।
गत वर्ष बिमा कम्पनीले दिनुपर्ने ४ करोडमध्ये २ करोड रुपैयाँ मात्र किसानले पाएको र २ करोड अझ बाँकी रहेको छ । किसानहरूले प्रति बिगाहाबाट करिब १० लाखको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । हावाहुरीले केरा खेतीमा ठुलो क्षति भएपछि किसानलाई क्षतिपूर्तिका लागि पहल गर्ने उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए ।
हावाहुरीका कारण ठुलो नोक्सान बेहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार