बिरुवा गाउँपालिका बालश्रम मुक्त घोषणा


स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको छ। योसँगै उक्त पालिका स्याङ्जाको पहिलो र सम्भवतः गण्डकी प्रदेशको पनि पहिलो बालश्रममुक्त गाउँपालिका बनेको हो ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बिरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि बालश्रम मुक्त राख्ने अभियानलाई निरन्तरता दिइने बताए ।

बालश्रम मुक्त बनाउन आवश्यक सबै सूचक र मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको अध्यक्ष कुँवरले जानकारी गराए । पालिकाभित्रका सबै ८ वडालाई क्रमशः बालश्रममुक्त गर्दै सिँगो गाउँपालिकालाई बुधबार बालश्रममुक्त गरिएको उनले बताए ।
‘घर, विद्यालय, पसल, होटल, उद्योग, व्यवसाय, व्यापारिक संस्था, कार्यालयलगायतका क्षेत्रमा १८ वर्षभन्दा कम उमेरका बालबालिका श्रमिकका रूपमा राखिएका छैनन् । उनीहरूले जोखिमपूर्ण काम गरेका छैनन्’, अध्यक्ष कुँवरले भने, ‘बालश्रममा भए नभएका विषयमा चरणबद्ध अभियान र अध्ययन अनुगमन गर्नुका साथै बालश्रम नगर्न र नगराउने गरी प्रतिबद्धतासहित बालश्रममा लगाउन नहुने बारेमा पालिकावासीलाई सचेत एवं जानकारी गराएका छौं ।’
सबै बालबालिकाले विद्यालयमा पढ्न पाउनुका साथै बालअधिकारबाट वञ्चित गर्न नहुनेमा समेत सूचित गराएको उनले बताए । बिरुवा गाउँपालिकाका आठवटै वडावासीले बालबालिकालाई श्रममा लगाउँदैनौँ र बालअधिकार सुनिश्चितता गर्छौं भनेर प्रतिबद्धता पनि जनाइसकेका छन् । ‘बालश्रम नगरौं, नगराऔं, बालश्रम कानुनविरुद्धको कार्य हो । बालश्रम दण्डनीय अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर बिरुवा बजार परिक्रमा गरी पालिकामा आयोजित औपचारिक कार्यक्रममार्फत बालश्रममुक्त घोषणा गरेका थिए ।

बिरुवा गाउँपालिकाको आयोजना तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बालअधिकार परिषद् र गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसनको समन्वय तथा सहकार्यमा बिरुवा गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको उपाध्यक्ष भगवती शर्माले बताइन् ।

बिरुवा गाउँपालिकामा बालश्रम कार्यविधि २०७७ अनुरूप विभिन्न ७ वटा सूचक र २० उपसूचक पूरा गरेपछि पालिकालाई बालश्रममुक्त भनी औपचारिक रूपमा घोषणा गरिएको हो । पालिकामा विद्यालय जाने उमेरका झन्डै २ हजार ४ सय बालबालिका रहेको पालिकाका पञ्जीकरण शाखा प्रमुख एवं स्थानीय बालकल्याण अधिकारी जनक भण्डारीले जानकारी दिए ।

– अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार