आफूसँग भएको काठ प्रयोग गर्न प्रभावकारी ऐनको आवश्यकता


काठमाडौँ । नेपाल वन क्षेत्रमा आफै आत्मनिर्भर भए पनि वार्षिक अरबौँ रुपियाँको काठ आयात गर्नु लज्जाको विषय भएको सरोकारवालाहरूको भनाइ छ । आफूसँग भएको काठको सदुपयोग गर्ने प्रभावकारी ऐन कानुन नहुँदा भएको काठ सडेर खेर गइरहँदा बाहिरबाट काठ भित्र्याउनु गलत भएको उनीहरूको बुझाइ छ ।

ग्रिन मिडिया फाउन्डेसनको आयोजनामा शनिबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवाला पदाधिकारीहरूले सो कुरा राखेका हुन् । नेपालमा पर्याप्त वन भएको र त्यसबाट प्राप्त हुने काठ प्रयोग गरी अरबौँ रुपियाँको काठ निकासी गर्ने क्षमता हुँदा समेत नेपालले त्यसको सदुपयोग गर्न नसकेको उनीहरूको गुनासो छ ।

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव पोखरेल नेपालले झ्याल ढोका र फर्निचरका सामग्रीका लागि वार्षिक १७ अर्ब बढीको काठ बाहिरबाट ल्याइरहेको बताए । यहाँको वनलाई नागरिकको जीविकोपार्जनसँग जोड्न सक्ने अवस्था रहे पनि काम हुन नसकेको उनको भनाइ छ । बागमती प्रदेश सरकारले सरकारी भवन र त्यहाँ प्रयोग हुने सबै काठ अनिवार्य स्वदेशी लगाउनुपर्ने नीति बनाएको उनले जानकारी दिए ।

वन्यजन्तु र मानवबिच अहिले द्वन्द्व बढेको भए पनि त्यसको सही व्यवस्थापनको खाँचो रहेको उनले बताए । आफू गत चैत २० गतेदेखि मन्त्रालयको जिम्मेवारीमा आए पनि प्रदेश सरकारको कुर्सी ‘म्युजिकल चियर’ जस्तो भएको चर्चा गरे । कुन बेला कुर्सी जान्छ भन्ने ठेकान नहुने भएकाले पनि सरकारी तवरबाट चाहेजस्तो काम गर्न नसकिने उनको बुझाइ छ ।

बागमती प्रदेश सभा सदस्य भारती पाठकले सरकारको नीति कार्यक्रममा ‘सामुदायिक वन जनताको धन’ नारा तय गरिए पनि सो अनुसार काम हुन नसकेको बताए । नेपालको वन क्षेत्रलाई उत्पादनमुखी बनाउन सञ्चार क्षेत्रले पनि पैरवीको काम गर्नुपर्ने उनले आग्रह गरे । वनलाई स्थानीय नागरिकको जीविकोपार्जनसँग जोड्न आवश्यक रहेको उनले सुझाव दिए ।

बागमती प्रदेशका पूर्व वन वातावरण मन्त्री सुनिल मानन्धरले वनसम्बन्धी ऐन नियम भए पनि सङ्घीय प्रणालीअनुसार परिमार्जन हुन नसक्दा कार्यान्वयनमा चुनौती भएको बताए । वन क्षेत्रमा नेपाल विश्वमा एउटा मोडल भए पनि यसको सदुपयोग गर्न नसक्दा आर्थिक घाटा भइरहेको उनले चर्चा गरे । नेपालमा कुल भूभागको ४५ प्रतिशत भूभागमा वन रहेको भए पनि त्यसको सदुपयोग हुन नसकेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्राध्यापक डा. पासाङ शेर्पाले वनहरू आदिवासी र स्थानीयको स्वामित्वमा रहँदा बढी संरक्षित हुने, सरकारको स्वामित्वमा हुँदा बढी विनाश हुने गरेकाले सामुदायिक वन मोडलमा नेपाल गएको बताए । यद्यपि आदिवासी तथा स्थानीय समुदायलाई वन संरक्षणको नाममा विस्थापित गर्ने काम उचित नरहेको उनले चर्चा गरे । वनलाई जनताको जीविकोपार्जनसँग जोड्नुभन्दा विस्थापन गरेर वनको संरक्षण गर्नु हितकर नहुने उनको भनाइ छ ।

वन विज्ञ डा. गङ्गाराम दाहालले वन राज्यको नियन्त्रणमा रहँदा बढी विनाश हुने र स्थानीयको स्वामित्वमा रहँदा बढी संरक्षण हुने विश्वव्यापी तथ्याङ्क रहेको बताए । सामुदायिक रूपमा वन संरक्षण हुँदा र निजी क्षेत्रले वनको संरक्षण गर्दा वन संरक्षण प्रतिशत वृद्धि देखिएको उनको भनाइ छ । विश्वभरिको वनमा करिब ९० प्रतिशत बन राज्यको नियन्त्रणमा रहेको उनले बताए ।

जलवायु परिवर्तनका विज्ञ डा. नेत्र तिमिल्सिनाले नेपाल विना कारण जलवायु परिवर्तनको सिकार भइरहेको बताए । जलवायु परिवर्तनका कारण यहाँ आउने बाढी पहिरो, आँधी हुरीले गरिबहरूको ज्यान गइरहेको भए पनि क्षतिपूर्तिका कुरा नेपालले गर्न नसकेको उनले बताए । यसको मारमा बढीभन्दा बढी गरिबहरू पर्नेगरेको उनले चर्चा गरे ।

कार्यक्रममा ग्रिन फाण्डेशनका अध्यक्ष घनश्याम पाण्डे, बागमती प्रदेश सदस्य आनन्द श्रेष्ठ, भुवनकेसरी श्रेष्ठ, पारिवारिक वनका अध्यक्ष जोगराज गिरी, पत्रकार सुशील मैनालीलगायतले वन संरक्षण र त्यसको उपभोगका लागि प्रभावकारी ऐन कानुनको खाँचो औँल्याए ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार