माई खोलाको बाढीले तीन परिवार विस्थापित


झापा । झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलस्थित टोलको पश्चिमतर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् ।
टोलका १० घरमध्ये तीन वटा घर अति जोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्ति घाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ ।
खोलामा एक शव फेला
झापाको दमक नगरपालिकास्थित रतुवा खोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
मृतकका आफन्तले घटनास्थलमा आएर सनाखत गरेपछि पहिचान खुलेको उनले बताए । रतुवा खोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार